मणिलाल विश्वकर्मा लहान । करिब तीन दशकभन्दा बढी समयदेखि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ सोठियाइन पटना गाउँमा बस्दै आएका मुसहर समुदायले बस्ती सुरक्षाका लागि सहयोगको आग्रह गरेका गरेका छन् । करिब ५० घरधुरी मुसहर बस्ती रहेको जग्गा आफ््नो रहेको दावीसहित स्थानीय जनप्रतिनिधिले उच्चमा मुद्दा हालेपछि बस्ती सुरक्षाका लागि पीडितहरुले सघाउन आग्रह गरेका हुन् । मुहसर बस्ती उठीबास गराउन अदालतमा खिचोला मुद्दादेखि स्थानीय स्तरबाट पनि विभिन्न दबाब दिइरहेकाले आफूहरु अप्ठ्यारोमा परेको बस्तीका पीडित शोभित सदायले गुनासो गरे । ‘करिब २०५० सालतिर बसेको बस्तीका मसहित बुचन सदाय, लक्ष्मी सदाय र घुरती सदाय विरुद्ध ३० वर्षपछि जग्गा खिचोला मुद्दा हाले’ उनले भने ‘जिल्लामा त मुद्दा जित्यौं, तर जग्गा दावी गर्ने स्थानीय जनप्रतिनिधिले फेरि उच्च अदालतमा पुनरावेदन गरेपछि हामीले पनि जसोतसो मुद्दा जोडेका छौं ।’ वडा सदस्यको नाममा बस्तीको जग्गा पटना गाउँमा कामत रहेका भक्तपुरका उपेन्द्र प्रजापति र राजाबहादुर प्रजापतिले कामत रेखदेख, खेतीपातीको उब्जनी संकलन र हिसाब हेर्नेगरी स्थानीय हरिनारायण यादव मुुन्सी बसेका थिए । उनको निधनपछि छोरा रामउद्गार यादवले मुुन्सीको काम गर्दै आएको पीडित बुचनले सुनाए । उनका अनुसार हरिनारायण मुन्सी रहेकै बेला स्थानीय ५० घरधुरीमध्ये ३२ जनाले बस्दै आएको घडेरी र खेतीपातीका लागि तीन लाख रुपैयाँसम्म बुझाएका थिए । त्यसरी रकम बुझाएकामध्ये पाँच जनाको नाममा जग्गा रजिष्ट्रेशन भएपनि बाँकीलाई आलटाल गर्दै हरिनारायणको निधनपछि उनका छोरा रामउद्गारले पनि त्यसो भन्दै आएको अर्का पीडित लक्ष्मीले सुनाए । ‘जग्गा रजिष्ट्रशन गरिदने भन्दै रामउद्गारले मुसहरहरुसँग संकलन गरेको करिब ५० लाख रुपैयाँ लहान आएर आइएमइबाट प्रजापतिलाई पठाएका थिए’ उनले भने । कामत रहेका उपेन्द्र र राजाबहादुरको निधन भएसँगै प्रजापतिका छोराहरुले मुसहरहरुसँग उठाएको रकम लिएको छैन भन्न थालेपछि मुसहर बस्ती रहेको जग्गा जनप्रतिनिधि भएको आडमा वडा सदस्य प्रमशिलादेवी ठाकुरले आफ्नो नाममा जग्गा लिएको शिक्षक समेत रहेका स्थानीय रामसुफल यादवले सुनाए । वडा सदस्य ठाकुरले पदीय आडमा तीन दशकभन्दा बढी समयदेखि बसोवास गर्दै आएको मुसहर बस्ती बसेको कित्ता नम्बर ८४५ को १० कठ्ठा ४.७५ धुर जग्गा तीर्थमाया प्रजापति समेतबाट १० माघ २०७९ मा लहान मालपोत कार्यालयमा रजिष्ट्रेश गराएपछि निरन्तर बस्ती खाली गर्न धम्क्याउँदै आएको पीडितहरुको गुनासो छ । स्थानीय रामसुफल सदायका अनुसार ठाकुरले पटक पटक प्रहरी समेत पठाएर बस्ती खाली गर्न धम्क्याउँदै आएका छन् । रकम बुझाए तर भएन रजिष्ट्रेशन स्थानीय बुचन सदायले १६ साउन २०७१ देखि १३ भदौ २०७४ भदौसम्म छ पटक गरी बस्दै आएको घडेरी सहित तीन कठ्ठा जग्गाका लागि रामउद्गार परिवारका इन्दल यादवलाई दुई लाख ५४ हजार रुपैयाँ बुझाएको तर अहिले ठाकुरले जग्गा खाली गर्न धम्क्याउने गरेको गुनासो गरे । ‘मलेसियामा बसेर कमाएको रकम श्रीमती सोमनीदेवीमार्फत जग्गाकै लागि बुझाएँ, तर अहिले न रकम फिर्ता दिन्छन्, अर्कै व्यक्ति आएर मेरो जग्गा हो भन्दै खाली गर्न धम्क्याउने गरेका छन्’ उनले भने । बुचन जस्तै स्थानीय सोभित र कलेश्वर सदाले क्रमशः तीन लाख र एक लाख ५० हजार रुपैयाँ बुझाएका छन् भने अशेश्वर सदा, महेशवर सदा, मुनि सदा, फुलचन सदा लगायतले बस्दै आएको घडेरीसहित जग्गाका लागि एक लाख रुपैयाँभन्दा बढी रकम बुझाएको बताए । त्यसरी रकम बुझाएका ३२ जनामध्ये किसनवती सदा, लक्ष्मिनिया सदा लगायत पाँच जनालाई भने जग्गा रजिष्ट्रेशन गरिदिएर बाँकीलाई आलटाल गरिरहेकै बेला भित्रभित्रै जग्गा आफ्नो नाममा ल्याएकी ठाकुरले बस्ती हटाउन धम्क्याउन थालेपछि बस्ती सुरक्षाका लागि पीडितहरुले स्थानीय अगुवा, सामाजिक अभियन्ताहरुसँग सहयोगका लागि आग्रह गरेका छन् । मजदूरी, हरवा चरवाको काम गरेर जीविका चलाउँदै आएको मुसहर बस्ती सुरक्षाका लागि लहानस्थित दलित जनकल्याण युवा क्लवले हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कानुनी प्रकृयाका लागि आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक बहादुर सदायले बताए । जिल्लामा फैसला, उच्चमा पुनरावेदन सिरहा जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलाशले ठाकुरले दायर गरेको विपक्षीहरुको घर उठाई खिचोला मुद्दामा ३ माघ २०८१ मा पीडितहरुको पक्षमा फैसला सुनाएको थियो । त्यसपछि ठाकुरले उच्च अदालत जनकपुर राजविराज इजलाशमा पुनरावेदन गरेपछि पटक पटक पेशी सर्दै आएको पीडितहरु बताउँछन् । उच्चको आदेश अनुसार २५ साउन २०८१ मा स्थलगत नक्सा सर्जमिन मुचुल्कामा उक्त जग्गामा प्रतिवादीहरु २५÷३० वर्षदेखिको बसोवास रहेको उल्लेख छ । सखुवानन्कारकट्टी २ नं. वडा कार्यालयले २ पुस २०८० मा जारी गरेको स्थायी बसोवास तथा भोगचलन सम्बन्धी पत्रमा पीडितहरु २५ जेठ २०५५ देखि बसोवास गर्दै आएको उल्लेख छ तर वडा सदस्य समेत रहेकी जग्गाधनी ठाकुरले गरेको पुनरावेदनमा आफूले जग्गा खरिद गर्नुअघि सोही वडा कार्यालयले ६ माघ २०७९ मा दिएका घरबाटो सम्बन्धी सिफारिशमा उक्त कित्तामा कुनै घरबाटो नरहेको, खेतीयोग्य जग्गा रहेको जिकिर गरेकी छन् । #Siraha #hilightseveryonefollowers2025 #madheshpradesh #dlite
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved