राजनीतिमा लागेर जमिन बेचेँ, जागिर छाेडेँ, आज सही मूल्याङ्कन भयाे : नवनियुक्त प्रदेश प्रमुख यादव

  • कार्तिक १९, २०७६
  • १९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा – मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिरहाका धर्मनाथ यादवलाई ५ नम्बर प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । नेकपा एमाले गठनपश्चात नै एमालेमा सक्रिय रहँदै आएका उहाँ सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

२००० सालमा सिरहाको सुखिपुर नगरपालिका–६, खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएको छ ।  उहाँका एक छोरा र छोरी छन् । श्रीमतीको ३ वर्ष अघि नै मृत्यु भइसकेको छ ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय छु, प्रदेश प्रमुखमा नियुक्त भएसँगै जनतामा राजनीतिप्रतिको आस्था पुनः जागेको छ ।’  उहाँको नियुक्तिमा विपक्षीले समेत पार्टीले सही निर्णय गरेको भन्दैस्वागत गरेका छन् ।

निरन्तर राजनीतिमा सक्रिय रहेका यादव २०३७ सालमा ३ महिना जेल पर्नु भएको थियो । सरकारी कामकाजमा आँच पुर्‍याउने गतिविधि गरेको आरोपमा उहाँलाई जेल हालिएको थियो । त्यसपछि पनि उहाँ शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो ।

२०४६ को प्रजातन्त्रको पुनर्वहालीपछि उहाँ २०४८ को आम चुनावमा उम्मेदवार बन्न  शिक्षण पेशाबाट दिनु भएको थियो । २०२७ सालदेखि २०४८ सम्म शिक्षण पेशामा रहेका उहाँले पार्टीकै निर्देशनमा राजीनामा दिई सिरहाको तत्कालीन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको थियो । त्यसपछि पनि यादवले ५१ को मध्यावधि चुनावमा भाग लिए पनि पराजित हुनु भएको थियो ।

राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि उहाँ आफ्नो राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । उनकै समकक्षी रामजी यादवले  उमेर र आर्थिक अवस्था कमजोर भएपनि उहाँको पार्टीप्रतिको निरन्तरता भने इमान्दारिताको उदाहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी राजनीतिकै कारण उहाँँले छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाउनु भएन, जागिर छोड्नुभयो, भएको सम्पत्ति पनि बेच्नुभयो । तर पनि पार्टीप्रतिको उहाँको आस्था र निरन्तरता बेजोडको छ ।’

यादव आफैले भने पार्टीले प्रदेश प्रमुखजस्तो गरिमामय पदमा आफ्नो नाम सिफारिस गरेर आफ्नो उचित मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘मैले राजनीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन बेचेँ र भएको जागिर छोडेँ, तर आज पार्टीले सही समयमा मूल्याङ्कन गरेको महसुस भएको छु ।’

सरल र सहज स्वभावका यादवले पार्टीमा लागेर मान्छेको जीवन सकिन्छ भन्ने छाप परेका जनसमुदायमा पनि आफ्नो नाम सिफारिसले नयाँ ऊर्जा थपेको पनि बताउनुभयो ।
सोमबार बिहानसम्म प्रदेश प्रमुखको सिफारिसबारे कुनै जानकारी नभएका यादव गाउँमै हुनुहुन्थ्यो । बिहान १० बजेतिर केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सुनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सूचना पाएको यादवले जानकारी दिनुभयो ।

गाउँमा रहेका यादव सूचना पाएपछि गोलबजार आउनु भएको थियो । गोलबजारमा केहीबेर बसेपछि उहाँ पार्टीका नेताहरुले बोलाएको भन्दै सोमबार नै काठमाण्डौ जानु भएको छ ।

उहाँ प्रदेश प्रमुखमा सिफारिस भएपछि आफन्त र राजनीतिक सहकर्मीहरुको बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ धर्मकान्त यादवसँगै सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...