रौतहट — गौर–गरुडा सडकखण्डको जयनगर चोकबाट पश्चिमतर्फ करिब १५ किलोमिटर यात्रा गरेपछि पुगिन्छ अजगैबी गाउँ। गाउँको पश्चिमी छेउमा बाँसको झ्याङले आधाभन्दा बढी ढाकिएको एउटा सानो जीर्ण झुपडी छ। केही दिनयता भने यही झुपडीबाहिर गाउँलेहरूको भीड लाग्ने गरेको छ। कारण हुन्, १६ वर्षीय राहुल यादव। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका राहुलको सफलताले उनको परिवार र गाउँमा खुसी छाएको छ। राहुल टिभी वा मोबाइलको स्क्रिनमा देखिनेबित्तिकै उनका बुबा वीरबहादुर यादवलाई बधाई दिन गाउँलेहरू पुग्छन्। छोराको खेल हेर्दै गरेका वीरबहादुर अहिले निकै खुसी छन्। ‘पहिले मलाई क्रिकेटप्रति कुनै मतलब थिएन, खेलकुदमा के नै हुन्छ र भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले छोराले देशैभर नाम कमाएको छ। टिभी र मोबाइलमा उसको खेल र चर्चा देख्दा छाती गर्वले चौडा हुन्छ। मेरो छोरा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राखोस् भन्ने चाहना छ।’ राहुलको परिवारको आर्थिक अवस्था कमजोर छ। घरमा दुईवटा साना कोठा छन् भने परिवारसँग जम्मा १२ कठ्ठा खेतीयोग्य जमिन छ। दुई दाजुभाइ र बुबाआमा रहेको परिवारको मुख्य आम्दानीको स्रोत खासै छैन। घर खर्च चलाउन जेठा छोरा कमलेश बुटवलस्थित एक अस्पतालमा काम गर्छन् भने दिदी सकुन्तलाको विवाह भइसकेको छ। घरमा राहुलसँगै उनका बुबा वीरबहादुर र आमा पनापति देवी बस्छन्। राहुलले चार वर्षयता विभिन्न प्रतियोगितामा जितेका ट्रफीहरू घरको एउटा कुनामा सानो डालीमा सजाएर राखेका छन्। क्रिकेटप्रतिको उनको लगाव र मेहनतको प्रमाण त्यही ट्रफीहरू हुन्। सुरुमा छोराको क्रिकेट मोहलाई परिवारले सहज रूपमा लिएको थिएन। आमा पनापति देवी सम्झिन्छिन्, ‘सुरुमा हामीलाई छोराको कुरामा विश्वासै लाग्दैनथ्यो। पढाइमा ध्यान दिनुपर्छ भनेर सम्झाउँथ्यौँ। तर आज उसले खेलबाट परिवार र गाउँकै मन जितेको छ।’ दुई वर्षअघि राहुलले आफ्नो भागमा पर्ने जमिन बेचेर भए पनि राम्रो क्रिकेट प्रशिक्षणको व्यवस्था मिलाइदिन बुबासँग आग्रह गरेका थिए। ‘बुबा, मेरो भागमा पर्ने जमिन बेचेर भए पनि मलाई राम्रो क्रिकेट सिक्ने अवसर मिलाइदिनुस् न,’ राहुलको आग्रह सम्झँदै वीरबहादुर भन्छन्, ‘आर्थिक अवस्थाका कारण जमिन बेच्न सकिएन, तर राहुलको मिहिनेत र इच्छाशक्तिमा कमी आएन।’ १२ वर्षकै उमेरदेखि क्रिकेट खेल्न थालेका राहुलले आफ्नो खेल निखार्न एक वर्ष दिल्ली र अर्को एक वर्ष लखनउमा आधारभूत प्रशिक्षण लिएका थिए। गाउँमा हुने स्थानीय प्रतियोगितामा उनको बलिङ सामना गर्न ब्याट्सम्यानहरूलाई कठिन हुन्थ्यो। बाल्यकालका साथी दिपेश यादवका अनुसार राहुलको बलिङमा गति र नियन्त्रण दुवै छ। गत वर्ष मधेश प्रदेशको अन्डर–१६ प्रतियोगितामा म्यान अफ द सिरिज बनेका राहुल चन्द्रपुर क्रिकेट एकेडेमीका उत्पादन हुन्। चन्द्रपुरमा हुने विभिन्न प्रतियोगितामा उनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधिसमेत जित्दै आएका थिए। राहुलको प्रतिभाले राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर पाउनुमा चन्द्रनिगाहपुरका क्रिकेटर देवराज कार्कीको पहल र चन्द्रपुर युवा क्लबको संयोजन महत्त्वपूर्ण बन्यो। गत २२ असोजमा चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले दुईदिने बन्द प्रशिक्षण तथा ट्यालेन्ट हन्ट आयोजना गरेको थियो। मोफसलका प्रतिभावान् खेलाडीलाई व्यावसायिक क्रिकेटमा अवसर दिने उद्देश्यले आयोजित छनोटमा देशभरबाट ४४६ भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए। कडा प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शन गर्दै राहुल अन्तिम सात खेलाडीमा छनोट भए। त्यसपछि उनी जनकपुर बोल्ट्समा आइकोनिक तथा उदीयमान खेलाडीका रूपमा आबद्ध भए। मध्यमगतिको बलिङमा विशेष दख्खल राख्ने राहुलले एनपीएलमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा राहुलले गरेको प्रदर्शनले नेपाली क्रिकेट वृत्तको ध्यान खिच्यो। काठमाडौंको बलियो ब्याटिङ लाइनअपविरुद्ध उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। यसअघि कर्णाली विरुद्धको डेब्यु खेलमा पनि उनले १५ रन खर्चेर दुई विकेट लिएका थिए। १६ वर्षीय राहुलले कप्तान करण केसी, स्मित पटेल, साम हेजलेट र मोहम्मद आदिल आलमजस्ता ब्याट्सम्यानलाई आउट गर्दै आफ्नो बलिङ क्षमता देखाए। उनको उत्कृष्ट प्रदर्शनसँगै जनकपुर बोल्ट्सले उक्त खेलमा आठ विकेटको शानदार जित निकाल्यो। रौतहटका पुराना क्रिकेटर बिकु सिंहका अनुसार हिजोसम्म गाउँको झुपडीमा बसेर टेलिभिजनमा ठूला खेलाडी हेर्ने राहुल आज तिनै खेलाडीसँग एउटै मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। ‘राहुलको यो छलाङ व्यक्तिगत सफलता मात्र होइन, साधन र स्रोतविहीन अवस्थामा पनि अगाडि बढ्न चाहने हजारौँ मोफसलका युवाका लागि प्रेरणा हो,’ उनले भने। छोराको सफलताले आमा पनापति देवी पनि निकै खुसी छन्। ‘हामी गर्वका साथ भन्छौँ, हाम्रो छोराले आफ्नै मिहिनेतले यो स्थान बनाएको छ। उसले भविष्यमा अझै मिहिनेत गरेर देशको नाम उच्च राख्नेछ भन्ने विश्वास छ,’ उनले भनिन्। रौतहटको एउटा सानो झुपडीबाट संघर्ष गर्दै एनपीएलको मैदानसम्म आइपुगेका राहुल अहिले नेपाली क्रिकेटका उदाउँदा प्रतिभाका रूपमा चिनिन थालेका छन्। उनको सफलताले अजगैबी गाउँसँगै मधेश प्रदेशका क्रिकेटप्रेमीहरूमा पनि नयाँ उत्साह थपेको स्थानीय सरोज यादव बताउँछन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved