सप्तरी । रसुवामा आएको बाढीमा बेपत्ता भएका सप्तरीको खुरहुरिया निवासी इन्जिनियर अजय कुमार यादवको दुई महिना बितिसक्दा पनि अवस्था अज्ञात रहेको छ। बाढीमा बेपत्ता भएका पत्रकार श्यामसुन्दर यादवका अनुज अजयको खोजी तथा परिवारलाई राहत उपलब्ध गराउने विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ। केशव कुमार झाले अजय यादवको खुरहुरियास्थित घरमै पुगेर परिवारको अवस्था बुझेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले अजयसहित सप्तरीका ४६ जना रसुवा बाढीमा ज्यान गुमाएका वा बेपत्ता भएका परिवारको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गरेका छन्। उनका अनुसार बाढी प्रभावित नदी आसपासका बासिन्दालाई मात्र राहत उपलब्ध गराउने प्रयास भएको देखिए पनि देशका अन्य जिल्लामा घरको मुख्य सहारा गुमाएका वा बेपत्ता भएका परिवारको अवस्था बुझ्न तीनै तहका सरकारले पर्याप्त चासो देखाउन सकेका छैनन्। विशेषगरी परिवारको आर्थिक जिम्मेवारी सम्हाल्दै आएका सदस्य बेपत्ता हुँदा उनीहरूका आश्रित परिवार दैनिक गुजारा चलाउने समस्यामा परेका छन्। अजय यादवको पहिचानका लागि डीएनए परीक्षण गर्न लगिएको नमुनाको रिपोर्टसमेत अहिलेसम्म परिवारलाई उपलब्ध नगराइएको केशव कुमारले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्। लामो समयसम्म खोजी तथा परीक्षणको नतिजा सार्वजनिक नहुँदा परिवार थप अन्योल र पीडामा रहेको उनको भनाइ छ। खुरहुरियास्थित अजयको घर पुग्दा काखे बालकको अवस्था देखेर आफू भावुक भएको उल्लेख गर्दै उनले प्रदेश सरकार र स्थानीय सरकारले तत्काल पीडित परिवारको वास्तविक अवस्था बुझ्नुपर्ने बताएका छन्। साथै, ढिलाइ नगरी राहत तथा सहयोगको प्याकेज घोषणा गर्न र केन्द्र सरकारसँग समन्वय गरी बेपत्ता व्यक्तिको खोजी, पहिचान तथा पीडित परिवारले न्याय पाउने विषयमा पहल गर्न उनले आग्रह गरेका छन्। बाढीमा आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर पर्खिरहेका परिवारका लागि राहत, खोजी, पहिचान र पुनःस्थापनाको विषय मानवीय संवेदनासँग जोडिएको छ। त्यसैले सम्बन्धित निकायले डीएनए परीक्षणको नतिजा, खोजीको प्रगति र पीडित परिवारलाई उपलब्ध गराइने सहयोगबारे स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved