रौतहट: तराई विकास तथा सञ्चार केन्द्र नेपालले आइतवार रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित होटल आरोहीमा नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश, र जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सम्मानमा बधाई तथा स्वागत कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिव तथा वरिष्ठ पत्रकार गोविन्द प्रसाद चौलागाईंले गरेका थिए।
प्रमुख अतिथि आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर प्रसाद यादवले मधेश प्रदेशका पत्रकारहरूको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमलाई सम्बोधन गरे। यादवले पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यक्रम सक्रिय रूपमा अघि बढिरहेको चर्चा गर्दै सबै श्रमजीवी पत्रकारहरूको हकहितमा कुनै विभेद नगरी काम गर्न आफूहरू तत्पर रहेको बताए। साथै, लोककल्याणकारी विज्ञापन बजेट न्यून भएकाले थप बजेटको मागमा मधेश प्रदेश सरकारलाई दबाब सृजना गर्न आग्रह गरे। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवाल, मधेश प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, बारा जिल्ला अध्यक्ष रमेश सुबेदी, रौतहट जिल्ला अध्यक्ष संजय कार्की, केन्द्रीय परिषद सदस्य राघव साह, प्रदेश परिषद सदस्य रमेश तिमल्सिना, धनुषा उपाध्यक्ष अवधेश कामत, पर्साका सहसचिव अजय चौरसिया र सिरहाका पत्रकार राम पुकार यादव लगायतका पदाधिकारी तथा सदस्यहरू र पत्रकारहरुको उपस्थिति रहेको थियो। सहभागी सबैलाई अबिरको टीका, गम्छा, र उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान गरिएको थियो।
मधेस प्रदेशको अगुवा संचारकर्मि भेलाले पारित गरेका १७ बुँदे प्रस्तावहरू कार्यक्रमले सञ्चार क्षेत्रको सुधार र पत्रकारहरूको हकहित संरक्षणका लागि १७ बुँदे प्रस्ताव पारित गर्यो। १. पत्रकार महासंघलाई पत्रकारहरूकै प्रतिनिधिमूलक संस्था बनाउने। २. संविधानमा ग्यारेन्टी गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता। ३. महासंघको कार्डलाई सूचना तथा प्रसारण विभागको कार्डसरह मान्यता दिलाउने। ४. श्रमजीवी पत्रकारहरूको अधिकार थप ग्यारेन्टी गर्ने। ५. मिडिया हाउस र पत्रकारभित्रका समस्या पहिचान र समाधान गर्ने। ६. स्वरोजगारमूलक मिडियाका समस्याहरू समाधान गर्ने। ७. सञ्चार सामग्री खरिदमा भन्सार छुट र मिडिया हाउसले तिर्ने करमा विशेष छुटको व्यवस्था। ८. पत्रकारलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने। ९. मुलधार र नयाँ सञ्चार माध्यम प्रवर्द्धन नीति ल्याउने। १०. नागरिक तहमा सञ्चार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्ने। ११. युट्युब पत्रकारिता प्रवर्द्धन नीति ल्याउने। १२. पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था। १३. अनलाइन पोर्टलहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने। १४. प्रेस काउन्सिलको वर्गीकरणमा मधेशका पत्रपत्रिकालाई विशेष प्राथमिकता। १५. केन्द्र सरकारको नियुक्तिमा मधेशलाई प्राथमिकता दिन आग्रह। १६. उपचाररत पत्रकार फणि महतको थप उपचारका लागि सरकारी सहयोगको माग। १७. स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमहरूलाई उपलब्ध गराउने। यस कार्यक्रममा सहभागी सबैले सञ्चार क्षेत्रको विकास र सुधारका लागि पारित प्रस्तावहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved