प्रदेश टाइम्स/माघ २३ ,सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा पठाइएका प्रशासकीय अधिकृत प्रमोद साहले पालिकामा हाजिर हुनुपर्ने स्थानमा उपस्थित नभई जिल्ला प्रशासन कार्यालय सिरहा र अन्य नेताहरूको घरमा हाजिर लगाएको भन्दै गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले कडा असन्तोष व्यक्त गरेका छन्। अध्यक्ष यादवका अनुसार, पालिकामा अधिकृत ल्याउन आफूले सहमति जनाएपछि मन्त्रालयले अधिकृत साहलाई पठाएको थियो। तर, उनले पालिकाको अध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कार्यपालिकासँग कुनै समन्वय नगरी बाहिरैबाट पालिकाको काम गर्न खोजेका छन्। अध्यक्ष यादवले अधिकृत साहको गतिविधिलाई गम्भीर रूपमा लिँदै भने, "पालिकामा हाजिर हुन आएका अधिकृतले स्थानीय तहको नियमावली र पद्दति अनुरूप काम गर्नुपर्ने हो। तर, उनले जिल्ला प्रशासन र नेताहरूको घरमा हाजिर लगाएर बाहिरैबाट पालिकाको खाता रोक्न लगाए। उनले पालिकाको मोबाइल सिम ब्लक गराएर अर्को सिम कार्ड निकाले र बाहिरैबाट पालिकाका गतिविधि नियन्त्रित गर्न खोजे। यस्तो कार्यशैली कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।" पालिका अध्यक्षका अनुसार, अधिकृत साहले पालिकाका कर्मचारीहरूबीच गुटबन्दी समेत गराएका छन्, जसका कारण पालिकाको प्रशासनिक कार्यमा अवरोध सिर्जना भएको छ। यादवले थपे, "हामीले कार्यपालिकाका सदस्यहरूसँग समन्वय गरेर सहज प्रक्रियाबाट अधिकृतलाई पालिकामा हाजिर गराउने प्रयास गरेका थियौँ। तर, उनले उल्टै अन्यत्र हाजिर भई पालिकाभित्र द्वन्द्व सिर्जना गरेका छन्। यस्तो अधिकृतबाट पालिका चल्न सक्दैन। हामी यस्ता अधिकृतलाई पालिकामा चाहँदैनौँ।" उता, अधिकृत प्रमोद साहले भने हाजिरको विषयमा आफू फोनमार्फत बारम्बार सम्पर्कमा रहेको दाबी गरेका छन्। तर, जनप्रतिनिधिहरूले भने महीनौँ बितिसक्दा पनि उनी प्रत्यक्ष सम्पर्कमा नआएको गुनासो गरेका छन्। मंगलबार अधिकृत साह आफ्ना नातागोता सहित एक समूह लिएर पालिकामा हाजिर हुन आएका थिए। यसक्रममा केही क्षण जनप्रतिनिधिहरू र अधिकृत साहबीच सामान्य भनाभन समेत भएको थियो। पछि स्थानीय जनप्रतिनिधिहरूले कार्यपालिकाको बैठक राखी समन्वयात्मक तरिकाले विषय टुङ्गो लगाउने निर्णयमा पुगेको थियो । यसअघि पनि अधिकृत प्रमोद साह सिरहाको कल्याणपुर नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा हाजिर हुन गएका थिए। तर, त्यहाँ आफ्नै साथीका नातेदार अधिकृत कार्यरत रहेको थाहा पाएपछि उनले हाजिर नगरी फर्किएको जानकारी प्राप्त भएको छ। यस घटनाले स्थानीय प्रशासनिक संयन्त्रमा देखिएको अस्थिरता र मनोमानी प्रवृत्तिलाई उजागर गरेको छ। बिष्णुपुर गाउँपालिकामा प्रशासनिक अधिकृतको यो गतिविधि केवल स्थानीय तहकै विषय मात्र नभई समग्र रूपमा सरकारी सेवामा देखिएको लापरवाही र प्रभावशाली समूहहरूको हस्तक्षेपको उदाहरणको रूपमा हेरिएको छ। यसरी बिना समन्वय कार्यसम्पादन गर्ने अधिकृतहरूका कारण स्थानीय तहमा द्वन्द्व सिर्जना हुनु र विकास कार्य प्रभावित हुनु गम्भीर चिन्ताको विषय बनेको छ। अध्यक्ष यादवले प्रशासनिक स्थायित्व कायम गर्नका लागि यस्ता मनोमानी प्रवृत्तिहरू नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। अब पालिका कार्यपालिका बैठकले यस विषयमा के निर्णय लिन्छ, त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved