प्रदेश टाइम्स समाचारदाता / धनुषा । नेपाल शिक्षक महासंघले देशभर शिक्षाको गुणस्तर सुधार तथा शिक्षक-कर्मचारीका पेशागत माग सम्बोधन गराउन सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनको पहिलो चरणअन्तर्गत विभिन्न स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सञ्चालन गरेको छ। सोही क्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषामा पनि महासंघ धनुषाको सह -सचीव इन्द्र कुमार झा सहित प्रतिनिधिहरूले अध्यक्ष श्री जय कुमार यादवलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। ज्ञापनपत्रमा २०७५, २०७८ र २०८० सालमा भएका आन्दोलनका क्रममा नेपाल सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै विद्यालय शिक्षा ऐन यथाशक्य छिटो जारी गर्न जोड दिइएको छ। यस ऐनले स्थायी, अस्थायी, करार, अनुदान, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयका शिक्षकहरूका हक अधिकार सुरक्षित गर्ने, शिक्षक-कर्मचारी मैत्री नीति ल्याउने तथा गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्ने उल्लेख गरिएको छ। तर, सरकार ऐन कार्यान्वयनमा ढिलाइ गर्दै शिक्षक-कर्मचारी विरोधी नीति अवलम्बन गरिरहेको महासंघको आरोप छ। नेपाल शिक्षक महासंघ धनुषाका सह–सचिव इन्द्र कुमार झाका अनुसार, सरकार आफ्नै निर्णयबाट शिक्षक ग्रेड मिलान, मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा अधिकारको सुनिश्चितता तथा मासिक तलब भुक्तानी जस्ता आधारभूत विषयहरू समेत सम्बोधन नगरी शिक्षक-कर्मचारीको माग उपेक्षा गरिरहेको छ। यसै सन्दर्भमा महासंघले पहिलो चरणको आन्दोलन सुरु गरिसकेको छ, जसअनुसार ध्यानाकर्षण पत्र बुझाउने, खबरदारी प्रदर्शन गर्ने तथा विरोधका अन्य कार्यक्रम सञ्चालन भइरहेका छन्। आन्दोलन आगामी चरणमा प्रवेश गर्दै अवरोधात्मक, अवज्ञा, वहिष्कार तथा काठमाडौं केन्द्रित सडक संघर्षमा रूपान्तरण गरिने महासंघले जनाएको छ। जबसम्म विद्यालय शिक्षा ऐन जारी हुँदैन, तबसम्म महासंघको आन्दोलन नरोकिने स्पष्ट गरिएको छ। महासंघले विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल समेत गरेको छ। ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक महासंघ धनुषाका सह-सचिव इन्द्र कुमार झा, महासंघका स्थानीय प्रतिनिधि, नेपाल शिक्षक संघका पदाधिकारी तथा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved