प्रदेश टाइम्स / सिरहा । सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले आम जनताको मनोवैज्ञानिक अवस्था, बालमस्तिष्क र दैनिकीमा नकारात्मक असर पार्ने कार्य गर्नु उचित ठानिँदैन। तर सिरहाको एक स्थानीय सरकार प्रमुखले भने यस्तै कार्य गरेर जनचर्चा मात्र होइन, जनगुनासोको विषय पनि बन्न सफल भएका छन्। उहाँ हुन् — नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव। सार्वजनिक पदको जिम्मेवारी सम्हालिरहेका उहाँले आज आफ्ना जन्मदिनको अवसरमा केक काटेर धूमधामसहित तालि घन्काउँदै उत्सव मनाए। त्यो मात्र होइन, आफ्नो विलासी जीवनशैलीको झलक पनि सामाजिक सञ्जालमा छताछुल्ल पारेर देखाए। उता, आफ्नै गाउँपालिकाका युवाहरू छाक टार्नकै लागि विदेशिन बाध्य छन् भन्ने कठोर यथार्थलाई नजरअन्दाज गर्दै, अध्यक्षज्यूको यो प्रदर्शनले जनप्रतिनिधि र जनताको जीवनबीचको दूरी अझ स्पष्ट बनाएको छ। तराई–मधेस अहिले जलसंकटको चपेटामा छ । यस्ता परिस्थितिमा जन्मदिनलाई केक काटेर होइन, बृक्षारोपण गरेर मनाउने हो भने कति सुहाउँदो र सन्देशपूर्ण हुन्थ्यो भन्ने स्थानीयको बुझाइ छ। बृक्षारोपणले वातावरण स्वच्छ बनाउन र गाउँलाई हराभरा राख्न सघाउँथ्यो। तर त्यो अवसर गुम्यो, र त्यसको सट्टा केकको मिठास अध्यक्षको टेबलमै सीमित रह्यो। धुलाम्य सडक, अधुरा विकास योजना, बेरोजगारी र न्यून आयका मारमा परेका जनताले आफ्नो जीवनस्तरमा मिठासको कुनै संकेत नपाएका बेला, गाउँको सर्वोच्च जनप्रतिनिधिको जन्मदिन उत्सवले सामाजिक असमानताको प्रत्यक्ष झलक देखाइदियो। यसले विकासको प्राथमिकताबारे गम्भीर प्रश्न उठाउँदै, नेताको ‘जनताको सेवक’ को छविभन्दा ‘व्यक्तिगत उत्सव’ मा रमाउने व्यक्तिको छवि अझ बलियो बनाइदिएको छ — जसको स्वाद गरिब जनताले अझै चाखेका छैनन्
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved