सिरहाको बिष्णुपुर गाउँपालिका अहिले राजनीतिक खिचातानी, भागबन्डाको स्वार्थ र नेतृत्व तहको व्यक्तिगत मनोमानीका कारण ठूलो संकटमा फसिरहेको छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा समेत कर्मचारी र शिक्षकले आफ्ना परिवारका लागि तलब–भत्ता पाउन नसक्नु, पालिकामा नियमित विकासात्मक कामहरु ठप्प हुनु र सामान्य जनताले सेवा–सुविधा लिन कठिनाइ भोग्नु, यी सबै कुरा गाउँपालिका नेतृत्वको असमझदारी र अहंकारपूर्ण व्यवहारले ल्याएको परिणामका रूपमा देखिएको छ । असार महिनादेखि नै तलब नपाएका पालिका कर्मचारी र विद्यालयका शिक्षकहरूले दशैँ–तिहारमा समेत परिवार धान्न नसक्ने अवस्थामा पुगेका छन् भने गाउँपालिका प्रमुख सत्यनारायण यादव र उपाध्यक्ष गीता कुमारी सिंहबीचको बजेट बाँडफाँडको विवाद दिनानुदिन चर्किँदै गएको छ । अध्यक्ष यादवले गाउँपालिकाको स्रोत–साधनलाई नीतिगत ढंगले खर्च गर्ने नाममा स्वेच्छाचारी निर्णय गर्दै आएको आरोप छ भने उपाध्यक्ष सिंहले आफूलाई अनुकूल हुने गरी अढाई करोड रुपैयाँ बराबरको बजेट तथा हाल प्रयोग भइरहेको पालिका भवनलाई निजी व्यक्तिसँग भाडामा राख्ने सम्झौता गराइदिन दबाब दिएकी कारण विवाद चर्किएको गाउँपालिका भित्रकै कर्मचारीहरूले बताएका छन् । यसले गर्दा पालिका सञ्चालनमा आवश्यक सामान्य खर्चदेखि लिएर कर्मचारी तलब, विद्यालय अनुदान र विकास कार्यक्रमसमेत अवरुद्ध भएका छन् । गाउँपालिकामा रहेका विभिन्न वडाका अध्यक्षहरूले समेत यो परिस्थितिप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष सिंहको व्यक्तिगत स्वार्थ र अध्यक्ष यादवको अडानले पालिकाको समग्र हितभन्दा बढी आफ्नो–आफ्नो वर्चस्वलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । उपाध्यक्ष सिंहले बजेट वितरणमा आफूलाई पाखा पारिएको गुनासो गर्दै, अध्यक्ष यादवले पालिकाको सबै अधिकार कब्जा गरेर एकल निर्णय गर्ने प्रवृत्ति देखाएको भन्दै खुलेर असहमति प्रकट गरेकी छन् । तर अर्कोतर्फ अध्यक्ष यादवले भने सिंहकै दबाबका कारण पालिकामा बजेट कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको दाबी गर्दै आइरहेका छन् । यी आरोप–प्रत्यारोपका कारण कर्मचारी र शिक्षक मात्र होइन, गाउँपालिकाका सर्वसाधारण जनताले समेत प्रत्यक्ष मार व्यहोर्नुपरेको छ । दशैँ–तिहारमा अन्य पालिकाका कर्मचारीले सहजै तलब–भत्ता लिएर परिवारसँग उत्सव मनाइरहेका बेला बिष्णुपुरका कर्मचारी–शिक्षकहरू भने कर्ज़ा धकेल्दै परिवार धान्ने संघर्षमा छन्, जुन नेतृत्व तहको असक्षमता र आपसी कलहको प्रत्यक्ष नतिजा हो । गाउँपालिकामा अहिले ‘साँढे गोरुको जुधाइ, बाछाको मिछाइ’ भन्ने उखान जस्ताको तस्तै प्रयोगमा आएको छ, जहाँ दुई नेताको सत्ता र स्वार्थको खेलमा निर्दोष कर्मचारी, शिक्षक र सर्वसाधारण जनता मिचिएका छन् । स्थानीयहरू भन्छन्, अध्यक्ष यादव र उपाध्यक्ष सिंह दुवैको स्वार्थी राजनीति र मनोमानीले पालिका मात्र होइन, सम्पूर्ण गाउँकै भविष्य बन्धक बनेको छ । उनीहरूको आपसी अविश्वास र दम्भका कारण पालिकामा भएका विकास योजना रोकिएका छन्, कर्मचारीहरूको मनोबल कमजोर भएको छ र विद्यालयका विद्यार्थीहरू समेत गुणस्तरीय शिक्षा–सुविधाबाट वञ्चित भइरहेका छन् । पालिकाको भित्री राजनीतिलाई नियाल्दा देखिन्छ, यादवले आफ्नो राजनीतिक पृष्ठभूमि र बहुमतको आधारमा सबैतिर नियन्त्रण जमाउन खोजेका छन् भने सिंहले महिला उपाध्यक्षको हैसियतमा आफ्नो पहुँच र हिस्सेदारी सुनिश्चित गर्न अत्यधिक दबाब सिर्जना गरेकी छन् । तर यी दुवैको कदमले पालिका प्रशासनलाई सुशासनतर्फ होइन, अव्यवस्था र असहजतातर्फ धकेलेको छ । यसरी नेतृत्व तहमा देखिएको असमझदारी र स्वार्थी खेलको सबैभन्दा ठूलो मार भने तलब–भत्ता पाउन नसकेका कर्मचारी, पठनपाठनमा प्रत्यक्ष असर पुगेका विद्यार्थी र आधारभूत सेवा सुविधा पाउन नसकेका सर्वसाधारण जनताले नै खेपिरहेका छन् । बिष्णुपुर गाउँपालिका अहिले सिङ्गो एउटा उदाहरण बनेको छ कि, जब नेताहरूको प्राथमिकता आफ्नै स्वार्थ र भागबन्डामा सीमित हुन्छ, तब जनताका आवश्यकता, कर्मचारीका अधिकार र गाउँको विकास सबै कुरा बन्धक बन्न पुग्छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved