देशभित्र जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति, विसङ्गति र कुरितिहरू विरुद्ध आवाज उठाउने बिष्णुपुर गाउँपालिका–२, गढियाका कृष्ण कुमार यादव देश परिवर्तनको सपनाका लागि आन्दोलनमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोलीले उनको खुट्टा छेड्यो र उनी गम्भीर घाइते भए।
आन्दोलनरत साथिहरूको सहयोगमा उनलाई सिरहाका विभिन्न क्लिनिक र अस्पतालमार्फत गोलबजारको बर्धमान अस्पताल हुँदै मोरङको विराटनगर मल्टिस्पिस्यालिटी न्युरो अस्पताल पुर्याइयो जहाँ दस दिनसम्म उपचार भयो। सामान्य किसान परिवारका यादवका लागि महँगो उपचार खर्च तिर्न असम्भव जस्तै भयो, तर आफन्त र गाउँलेको ऋण–सहयोगमा उनले उपचार पूरा गरे। अहिले पनि उनी नियमित फलोअपमा छन्।
तर देश परिवर्तनका लागि गोली खाएका उनलाई भेट्न न राज्यका प्रतिनिधि आए, न राजनीतिक दलका नेताहरू। त्यसपछि बिष्णुपुर गाउँपालिकाका स्वतन्त्र जेन जेड युवा, पत्रकार र समाजसेवीहरूले मानवीय भावनाले प्रेरित भएर “मानवताको आन्दोलन” नामक आर्थिक सहयोग अभियान शुरू गरे,
जसबाट जम्मा एक लाख सतहत्तर हजार रुपैयाँ संकलन भयो। उक्त रकमबाट घाइते यादवलाई उपचार सहयोगस्वरूप ५५ हजार, कर्जनहा नगरपालिका स्थित अस्पतालमा पैसा अभावका कारण बन्धकमा परेका दलित सदाय परिवारलाई ४१ हजार, र बिष्णुपुर गाउँपालिका–३ मा पोखरीमा डुबेर मृत्यु भएकी ४ वर्षीया आशा कुमारी पासमानका परिवारलाई किरिया खर्चस्वरूप ११ हजार नगदसहित खाद्यान्न सामग्री सहयोग गरियो। घाइते यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई स्थानीयले ऐतिहासिक र अबिस्मरणीय मानवीय कार्य भन्दै प्रशंसा गरे। आन्दोलनको घाउ अझै निको नभए पनि यी युवाहरूले देखाएको संवेदना र एकताले समाजमा नयाँ आशा र मानवताको उज्यालो फैलाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved