सिरहाको सुन बजारमा गहिरिंदो अन्धकार: अनियमितता, वाह्र्य हस्तक्षेप र उपभोक्ता शोषणको डरलाग्दो श्रृंखला

  • मंसिर ८, २०८२
  • ६५६ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहामा सुन–चाँदी व्यवसाय दशकौँदेखि आर्थिक गतिविधिको महत्वपूर्ण आधार रहे पनि अहिले यो क्षेत्र चरम अव्यवस्था, अपारदर्शिता र उपभोक्ता ठगीको गहिरो संकटमा डुब्दै गएको छ। मिसावट, कम क्यारेट, तौल–मापमा हेरफेर, बिल–विहीन कारोबार, धम्की–धम्काउ जस्ता अनियमितता सामान्यजस्तै भइसकेका छन्, जसले उपभोक्ताको मौलिक अधिकारमाथि प्रहार गर्नुका साथै बजारप्रतिको दशकौँदेखिको विश्वासलाई पनि डामेको छ। १० ग्राम सुन भनिएको ९.५ ग्राम मात्र पर्नु, २२ क्यारेटको नाममा १८–२० क्यारेट सुन बेचिनु, बिल माग्दा उल्टै धम्की पाइनुजस्ता घटना तौल–माप विभाग, उपभोक्ता संरक्षण शाखा र जिल्ला प्रशासनजस्ता नियमन निकायहरूको कमजोरी र गैरजिम्मेवारीपनको ठोस प्रमाण हुन्। अनुगमन कागजी औपचारिकतामा सीमित हुनु, कारबाही चिनेजानेकाकै नाममा अडिनु, बिलविहीन करोडौँको कारोबारबाट राज्यको राजस्व हिनामिना हुनु—यी सबैले अस्वस्थ प्रतिस्पर्धा र ठगी प्रवृत्तिलाई झनै बढाइदिएका छन्। उपभोक्ता स्वयं कानुनी प्रक्रियाबारे अनभिज्ञता, उजुरी गर्दा ‘काम पर्ला’ भन्ने डर, प्रमाण नहुने आशङ्का आदिका कारण मौन बस्नुले अनियमित व्यवसायीहरू अझ निडर बन्दै गएका छन्। यसबीच सिरहाको सुन बजारमा विदेशी नागरिक वा भारतीय आधार कार्डधारी व्यक्तिहरूले सञ्चालन गरेका दर्ताविहीन पसलहरूले त संकटको रूप नै फेरिदिएका छन्। बन्धक राखिएको लाखौँ मूल्यका गरगहना लिएर फरार हुने घटनाहरू तीव्रगतिमा बढिरहेका छन्, जसको ताजा उदाहरण बिष्णुपुर चौकस्थित वैष्णवी ज्वेलर्सका संचालक संजिव साह हुन्, जो बिष्णुपुर, गौरिपुर, ब्रहमपुरी, राजपुर कौवाहा, रजोखैरलगायत क्षेत्रका दर्जनौँ महिलाहरू—सुनिता देवी राम, जानकी देवी यादव, लक्ष्मी देवी, रामकुमारी महरा, रिना देवी महरा, इन्दिला यादव, राजबती देवीलगायत—को बन्धक गरगहना लिएर फरार भएका छन्। अझ भयावह कुरा, पीडितहरूको आरोपअनुसार, उनलाई केही ज्वेलर्सकै मिलेमतोमा भगाइयो, जसले बजारमा फैलिएको प्रभावको जालो अझै स्पष्ट बनाउँछ। सिरहामा धेरै सुनचाँदी पसल दर्ताविहीन रूपमा सञ्चालन भइरहनु, विदेशी नागरिकको अवैध संलग्नता बढ्नु, बन्धक चलनमार्फत भारी मुनाफा कमाएपछि पसलसहित गायब हुने प्रवृत्ति बढ्नु—यी सबै घटनाले सिरहाको सुन बजार गहिरो अन्धकारतर्फ धकेलिएर गएको संकेत दिन्छ। अब दर्ताविहीन पसल बन्द गर्ने, विदेशी नागरिकको अवैध गतिविधि रोक्ने, क्यारेट तथा तौल–माप परीक्षण अनिवार्य गराउने, बिल नदिने वा मिसावट गर्ने पसललाई तुरुन्त कारबाही गर्ने, र नियमित तथा आकस्मिक अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्नेबाहेक अर्को विकल्प छैन। जबसम्म नियमन सुदृढ हुँदैन, कानुन निष्पक्ष रूपमा कार्यान्वयन हुँदैन, र उपभोक्ता आफ्नै हकहितका लागि सचेत र साहसी भएर उभिँदैन, तबसम्म सिरहाको सुन–चाँदी व्यवसायमा फैलिएको ठगी, अनियमितता, बाह्य हस्तक्षेप र आर्थिक अपराधको यो कुरीति झनै गहिरिंदै जाने निश्चित छ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...