प्रदेश टाइम्स सम्वाददाता जनकपुरधाम प्रदेश नं-२ धनुषा जिल्लाका जनकपुरको मुख्य सडकखण्ड र अन्य शाखा सडक खण्डहरुमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभाबी खुला छोडिएका छाडा चौपाया र पशुसँग ठोक्किएर पछिल्लो समय सडक दुर्घटनाको संख्यामा उल्लेख्य रुपमा वृद्धि हुँदै गईरहेको छ । यसले गर्दा एकातर्फ दुर्घटनाको जोखिम बेहोर्नुपर्ने अवस्था त छदै नै छ, त्यहीँ अर्कोतर्फ पनि यसले भने जनकपुरधामको माछा बाजार निर अनावश्यक रुपमा घण्टौं ट्राफिक जाम लाग्ने गरेको छ । तर छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरपालिका जनकपुरधामले खासै चासो देखाएको छैन। जनकपुर– ढल्केवर सडक अन्तर्गतमा खुला छोडिएका छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम उच्च छ । सडकमा जथाभाबी छाडिएका छाडा चौपाया सडकको बिच भागमा आवतजावत गर्ने र बिच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटनाको कारणले गर्दा आम नागरिकका साथसाथै सडकमा रहेका ती छाडा चौपायाहरुको समेत मृत्यु हुने गरेको छ । जनकपुरमा खास गरेर रातिको समयमा सडकमा बसेका छाडा चौपायाहरु ठीकसँगले नदेखिने हुँदा ठोक्किएर बढी सवारी दुर्घटना हुने गरेको छ । छाडा चौपाया व्यवस्थापन र नियन्त्रणका लागी उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालयद्धारा हालसम्म गरिएका प्रयासहरु विफल झैं देखिएका छन । छाडा चौपाया नियण्त्रणका लागी कुनै ठोस कदम नचालिँदा पटक–पटक गरिएको पहलले पनि सार्थकता पाउन सकेको छैन । छाडा चौपायाकै कारण आर्थिक बर्ष २०७४ देखि ०७६ मा १० वटा सडक दुर्घटना भईसकेका छन् । दुर्घटनामा परी दुई चौपाया र व्यक्तिको मृत्यु समेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रतिवेदनमा उल्लेख छ । ट्राफिकको तथ्याङ्कअनुसार जनकपुरमा हरेक महिना १ देखि ३ वटा सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनामा परी प्रत्येक महिना १ जनाको मृत्यु र २ जना गम्भीर घाइते हुने गरेका छन् । छाडा पशु चौपाया, तीव्र गति र मादक पदार्थ सेवले १ बर्षको अवधिमा जम्मा ४० देखि ५० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्गकले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक परशुराम घिमिरेले छाडा चौपाया नियन्त्रणका लागी आफुले उपमहानगरपालिकासँग समन्वय र आवश्यक पहल गरिरहेको बताउनुभयो । सडकपेटीमा खान, बस्न र हिँड्न पाएका गाईगोरु तथा खच्चरहरुले साँझ तथा रातको समयमा सडकका मुख्य चौक तथा बीच सडकमै अस्तव्यस्त अवस्थामा पशुचौपाया छरिएर बस्दा सवारीसाधन सञ्चालनमा असहज हुनाका साथै दुर्घटनामा समेत वृद्धि भएको छ । जथाभावी पशुचौपाया बजारमा छाड्नाले धेरै सर्वसाधारण देखि फलफुल र तरकारी व्यापारीहरुलाई बढी सास्ती खेप्नुपरेको उनीहरु बताउँछन । लामो समयदेखि रहेको छाडा पशुचौपायाको समस्या समाधान गर्न स्थानीय निकायले पनि कार्ययोजना बनाएर ध्यान दिनु जरुरी रहेको स्थानीयहरुकोे भनाई छ । सोही बिषयमा बोल्दै जनकपुर उपमहानगरपालिकाका पशु चिकित्सकले छाडा चौपायाहरुलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले बार्षिक ४० हजार रुपैया बजेट छुट्याएर बर्षमा ३ पटक नगरबासीलाई जथाभाबी छाडाचौपाया खुला नछोडिदिन माईकिङ गर्दै आएको बताउनुभयो । उहाँले सुचना सुनेर पनि अटेर गर्नेलाई दण्ड जरिवाना समेत गर्दै आएको बताउनुभयो । उपमहानगरपालिकाले सडकमा जथाभाबी जीवजन्तु तथा पशुपन्क्षी खुला छोडेमा गाई, भैंसी, रागोँ र साढेँलाई दण्ड जरिवाना गर्दै आएको छ । तर जरिवानाले मात्रै समस्याको दीर्घकालीन समाधान निस्कन्छ जस्तो देखिँदैन । समग्रमा भन्दा बजेट अभावकै कारण नगरबासीले यी समस्याहरु झेल्नुुपरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved