मनोज यादव---- सर्लाही ,२ पुस । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) र चक्रघट्टा गाउँपालिकाले संयुक्तरूपमा वडा न-८ को औरहीमा संचालन गरेको महिला प्रजनन अधिकार कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन गरेको छ ।केड नामक गैर सरकारी संस्थाले चक्रघट्टा गाउँपालिका सँगको सहकार्यमा विगत ५ वर्षदेखि उक्त गाउँपालिकाको औरहीमा संचालन गर्दै आएको सो कार्यक्रमको स्थानीय गाउँपालिका स्तरीय सरोकारवाला निकाय र पत्रकारहरु द्वारा समुदाय ,विद्यालय र स्वास्थ्य चौकीको अनुगमन गरेका हुन । चक्रघट्टा गाउँपालिका प्रमुख बिक्रम यादवको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत मुकेश पाठक,वडा न-८ का वडाध्यक्ष राम कैलाश राउत,शिक्षा शाखाका पवन कुमार कुशवाहा,स्वास्थ्य संयोजक लालबाबु साह,महिला तथा बालबालिका शाखाका विवेक कुमार मण्डल ,गापा उपप्रमुखका प्रतिनिधि राम सिंहासन राम र पत्रकार मनोज यादवले सुपरिवेक्षण तथा अनुगमन गरेका थिए ।वातावरणीय कृषि तथा विकास केन्द्र(केड) अन्तर्गतको महिला प्रजनन अधिकार कार्यक्रमले विगत डेढ दशकदेखि मध्य र सुदुरपश्चिम तथा पुर्वी तराई र पहाडी जिल्लाका स्थानीय गैरसरकारी संस्थाहरु सँग आङ खस्ने एवं प्रजनन अधिकारका सवालमा काम गर्दे आइरहेको र सोही अन्तर्गत संस्थाले सर्लाहीको चक्रघट्टा गा.पा.मा पनि विगत ५ वर्षदेखि किशोरीहरुलाई कम्तीमा माध्यमिक तहको शिक्षा पुरा गर्न मद्दत गर्दै गाउँघरमा हुने बालबिवाह र सानो उमेरमा बच्चा जन्माउने कार्यको प्रतिकार गर्न सशक्त बनाउन ,महिलाहरुमा आङ खस्ने समस्याको व्यवस्थापन गर्न वृहत रणनीतिक योजना बनाएर त्यसलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउन र महिलाहरुले आफ्नो समान अधिकार र अवसर उपभोग गर्न सशक्त बनाउने उदेश्यले यो कार्यक्रम संचालन गर्दै आएको केडकी कार्यक्रम अधिकृत दिपिका श्रेष्ठले जानकारी दिएकी छिन ।अनुगमन टोलीका सदस्यहरुले संस्थाले किशोर-किशोरी ,समुदाय र महिला स्वास्थ्यलाई लक्षित गरेर संचालन गरेको समुदायमा आधारित प्रतिरोधात्मक तथा प्रवर्द्धनात्मक ,क्षमता अभिवृद्धि ,किशोरी सशक्तीकरण , वकालत तथा पैरवी जस्ता कार्यक्रमहरु निर्धारित उदेश्य अनुरुप कार्यान्वयन भए नभएको ,कार्यक्रम सान्दर्भिक र प्रभावकारी भएको छ या छैन,आङ खस्ने सवाल तथा प्रजनन स्वास्थ्य अधिकारका सवालमा संचालन भएका गतिविधिहरुको कार्यान्वयन स्थिति एवं नतिजा र सुचक अनुसारको प्रगति अवस्थाबारे जानकारी लिएका थिए ।केडले संचालन गरेको कार्यक्रम प्रभावकारी भएको र यसलाई निरन्तरता दिनुपर्ने टोलीका संयोजक एवं गापा प्रमुख बिक्रम यादले बताउनुभयो । केटा मान्छे सँग बोल्न समेत हिचकिचाउने किशोरीहरु अहिले विद्यालयमा वितरण गरिने सेनेटरी प्याड शिक्षक सँग आफै गएर माग्न थालेका छन् ।उनिहरुमा बालबिवाह र त्यसबाट पर्ने नकारात्मक प्रभावको बारेमा चेतना आउनुका साथै आफ्नो गाउँ ठाउँमा हुनलागेका बालबिवाह समेत रोक्न थालेका छन् ।संस्थाले आफुहरुको लागि जीवन उपयोगी सृजनात्मक सीप,नेतृत्व विकास र यौन तथा प्रजनन स्वास्थ्य तालिम प्रदान गरेको जनता मावि कक्षा -९ की आरती कुमारी कुशवाहाले बताइन ।कक्षा -९ की किशोरीहरुले विद्यालयमा शौचालय र सेनेटरी प्याड बदल्ने छुट्टै कोठाको अभाव रहेकोेले महिनावारीको समयमा समस्या हुने भएकोले घरमै बस्नुपर्दा पढाइमा अवरोध हुनेगरेको अनुगमन टोली सँग गुनासो गरेका थिए ।संयोजक यादवले यसको तत्कालै समाधानका लागि वडा अध्यक्षलाई निर्देशन दिनुभयो । त्यस्तै वडा न-८ को औरही महिला संजालका महिला सदस्यहरुले आफ्नो समुहको संचालन गर्न आवश्यक पर्ने सीप , आङ खस्ने तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरेर ठुलो सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिंदै यस समुहको दर्ताको लागि पहल गरिदिन आग्रह गरेका थिए ।उनिहरुले स्वास्थ्य चौकीबाट सुत्केरीहरुलाई वितरण गरिने चना ,ध्यु , आइरन चक्की समेत नपाएको गुनासो गरेका थिए ।आफ्नो समूह मार्फत गरिब तथा विपन्न वर्गका महिलाहरुको लागि रिंग पेसरी सम्बन्धि सिविर संचालन गर्न इच्छुक भएकोले सहयोग गरिदिन समेत उनिहरु टोली संयोजक यादव समक्ष आग्रह गरेका छन् ।गापा प्रमुख यादवले संस्थाले गरेको कार्यको प्रसंशा गर्दै आफु र आफ्नो गाउँपालिका संस्था सँग कांधमा कांध मिलाएर अधिबढ्ने बताउनुभएको छ । विगत ५ वर्षदेखि नमुना जोडिको रुपमा काम गर्दै आएका गिरधारी साह र लिलावती साह र कार्यक्रमा संचालनमा सहयोग गर्ने गैरसरकारी संस्था मोप्प नेपालका संजय मण्डललाई केडका निर्मल साहले संस्थाको तर्फबाट र गा. पा प्रमुख बिक्रम यादवले चक्रघट्टा गा. पा को तर्फबाट धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved