गाँजा खेती विधेयकः १८ वर्षकाले खेती, २१ पुगेपछि विक्री वितरण गर्न पाउने

  • फागुन १९, २०७६
  • २३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सत्तारुढ नेकपाका सांसद एवम् पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले १८ वर्ष उमेर पुगेकाले मात्र गाँजाको खेती गर्न पाउनेगरी विधेयक प्रतिनिधि सभामा दर्ता गराएका छन्।

सांसद तामाङले गैर सरकार विधेयक अर्थात् (प्राइभेट बिल)का रुपमा गाँजा खेती सम्बन्धी कानून निर्माणको प्रस्ताव गरेका हुन्।

उनले विधेयकमा गाँजा खेतीका लागि पूर्व अनुमति लिनुपर्ने प्रस्ताव गरेका छन्। यस्तो अनुमति स्थानीय तहबाट पाइनेछ। तर कुन कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो केन्द्र सरकारले लगाउनेछ।

यसरी अनुमति लिँदा गाँजा खेती गर्न चाहने कृषकले जग्गाको कित्ता टुङ्गो लगाउनुपर्नेछ। स्थानीयले एउटा परिवारले कूल जग्गाको कति जग्गामा गाँजा खेती गर्न अनुमति दिने भन्ने हद तोक्नेछ।

कृषकले गाँजा खेतीका लागि अनुमति प्राप्त गर्न गाँजाको बोट तथा त्यसबाट उत्पादन गर्न सकिने पदार्थको अनाधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिने उपाय समेत सुझाउनुपर्नेछ।

विधेयकमा तामाङले १८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने व्यवस्था गर्न सुझाएका छन्। त्यस्तै गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने प्रावधान गरिएको छ। त्यस्तै कृषकले गाँजा बिक्री वितरणको विवरण नराखे अनुमति खारेज हुनेछ ।

विधेयकमा गाँजा भित्र्याउनु अघि पनि अनुमति प्राप्त गर्ने निकायमा जानकारी गराउनुपर्ने कडा नियम प्रस्ताव गरिएको छ। त्यस्तै गाँजाको विज्ञापनमा प्रतिबन्ध गरिएको छ।

विधेयकले गाँजाको बिक्री वितरणलाई समेत व्यवस्थित बनाउन प्रस्ताव गरेको छ। कृषकले गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फुल रहेको प्याकेटमा लेबल राखेर मात्र बिक्री गर्न पाउने प्रावधान विधेयकमा छ।

उत्पादन भएको स्थान, अनुमति पत्र नंम्बर, चेतावनीमुलक सूचना र प्याकेट भित्रको परिणाम खुलाएर मात्र कृषकले बेच्न पाउनेछन्। गाँजा बिक्री वितरण गर्न चाहनेले समेत अनुमपति पत्र लिनुपर्ने प्रावधान विधेयकमा छ।

विधेयकमा अनुमति नलिई गाँजा खेती गरे वा बिक्री वितरण गरे १ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यस्तै लेबल नलगाए ६ महिनासम्म कैद र १ लाखसम्म जरिवाना हुन सक्नेछ।

विधेयकमा गाँजा खरिद कर्ताको नाम थर र ठेगाना खुलाएर मात्र तोकिए बमोजिमको परिणाममा नबढ्नेगरी बिक्री वितरण खुल्ला गर्न प्रस्ताव गरिएको छ।

तर खरिदकर्ता भने चिकित्सकको प्रेष्कृप्सन प्राप्त व्यक्ति हुनुपर्नेछ। अथवा गाँजा खरिद गर्न स्वीकृत प्राप्त व्यक्ति वा कम्पनी हुनुपर्नेछ। तामाङले २१ वर्ष पूरा नभएका वा गर्भवति महिलालाई बिक्री वितरण गर्न वा निशुल्क उपलब्ध गराउन नपाइने प्रावधान विधेयकमा प्रस्ताव गरेका छन्।

विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभाबाट समेत पारित भएमा विधेयकले कानूनी मान्यता प्राप्त गर्नेछ  सेतोपाटीबाट 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...