प्रदेश टाइम्स बिष्णुपुर सिरहा ४ भाद्र । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरको बेल्दरही टोलमा दुईतर्फा झगडा हुँदा कुटाईबाट एक महिलाको मृत्यु भएको छ भने सोधपुछका लागि प्रहरीले चार जनालाई पक्राउ गरेका हुन् । अर्नमा गाउँपालिका–५ कृष्णपुरको बेल्दरही टोलकी ५० वर्षिया सिता देवी राउतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राउतको अनुहार र भित्रि भागमा चोट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । उपचारको क्रममा राउतको जिल्ला अस्पताल सिरहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी गराए तर स्थानीयहरुका अनुसार विपक्षीहरुको निर्घात कुटाईबाट सिताले घटनास्थलमै प्राण त्यागेकी थिइन् । कुमर राउत, बालदेव साह, सुलेखा राउत, लिला देवी राउत, सिताराम राउत लगायतका केही व्यक्तिहरुको समूहले साँझको समयमा गाली गर्दै कुटपिट गर्न थालेको रोहित राउतले बताए । घरका धेरै जसो व्यक्ति कामविषेशले बाहिर गएको मौका छोपी विपक्षीहरुले कुटपिट गर्दा सिता देवी ज्यान घटनास्थलमै गएको उनले दाबी गरे । विपक्षहरुको कुटपिटबाट गीता देवी राउत, रोहित राउत घाइेत समेत भएको प्रत्यक्षदर्शीहरुले बताएका हुन् । उनीहरुका अनुसार गाली गर्दै लाठी, मोटरसाईकल सोकरको पाइप तथा घरेलु हतियार सहित आएकाहरुले घरमा मेटाएकाहरुलाई निर्घात कुटपिट गर्न थाले । पोष्टमाडम पछि मृतक सितादेवीको शव दाहसंकारका लागि गाउँ लगिएको जिल्ला अस्पताल सिरहाले जनाएका छन् । मृतक राउतको अनुसार र शरिरको भित्रि भागमा चोट लागेर रक्तश्राव भएकोले मृत्यु भएको हुन सक्ने बताइएको छ । घटनबारे बुझ्न अर्को पक्षसँग सम्पर्क गर्न गरिएको प्रयास सफल हुन सकेन् । अधिकांश व्यक्तिहरु सिता देवीको मृत्यु खवरले गाउँ छाडी अन्यत्रै भागेको स्थानीयहरुले बताएका छन् । ४७ वर्षिय बालदेव साह, ३८ वर्षिय कमलेश राउत, ४६ बर्षिय लिलादेवी राउत र २२ बर्षिया सुलेखा राउतलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अन्तरजातीय विवाहले विवाद राउत थरीकी एक युवतीले यादव थरका युवासँग झण्डै तीन वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेको थियो । जसमा युवतीको आमाबुवाको सहमति हो भनेर जातीय अगुवाहरुले भोज तथा गाउँले व्यवहारबाट बहिस्कार गरेका थिए । गाउँको जातीय माइजन सहदेव राउत रह्दै आएको स्थानमा माइजनी हत्याउनका लागि उनकै भतिज पर्ने कुमर राउतले प्रयास थालेका थिए । त्यो प्रयासलाई सफल बनाउनका लागि पटक–पटक विवाद गराएको राउत जातीका गाउँले माइजन सहदेव राउतले बताए । छोरीले अन्तरजातीय प्रेम विवाह गरेर इज्जत गुमाइदिएको भन्दै जातीय अगुवाहरुले जातमा भोज खान नदिनुका साथै खेत खलियान तथा गाउँले व्यवहारमा समेत बाधा पु¥याउदै आएको अन्तरजातीय प्रेम विवाह गरेकी युवती घरका एक सदस्यले बताए । ‘जातीमा भोज खानुछ र गाउँले व्यवहार चाहिएको छ भने छोरीलाई कहिले घर नबोलाउनु । भेट्न पनि नजानु । जानुछ भने त्यो कुनै व्यवहार मिल्दैन्,’ युवती घरका सदस्यले भने,‘छोरीले प्रेम गरेको हो, चोरी हैन सम्झेर छोरीको मुख हेर्दा गाउँका केही व्यक्तिले वर्षौ देखि दुःख दिँदै आएका थिए ।’ विवादको अर्को जरा ढलानको हिसाव अर्नमा गाउँपालिकाको कार्यालयबाट त्यस बस्तीमा आरसीसी ढलानका लागि ८ लाख विनियोजन गरेको थियो । उक्त काम गराउनका लागि अध्यक्ष बुधेश्वर राउत, कोषाध्यक्ष पुजा राउत र सचिव रामदुलार राउत लगायतका व्यक्तिहरुको सहभागीतामा एक उपभोक्ता समिति बन्यो । सबैको सहमतिमा बनेको उपभोक्ता समितिले काम पनि सम्पन्न गरे । तर उक्त समितिले काम सम्पन्न गर्दा भएको खर्च विवरणको हिसाव माग्दा विवाद सुरुवात भयो । छोरीले अन्तरजातीय विवाह गर्दा जातमा मिल्न नसक्ने पक्षका व्यक्तिहरुले हिसाव माग्ने जस्ता थरि थरिका कुरा उठाएर खर्च विवरण लुकाउन खोजिएको स्थानीयहरुले बताएका हुन् । श्रोतका अनुसार काम सम्पन्न गरेर समितिका अध्यक्ष बुधेश्वरको जिम्मा केही रकमको हरहिसाव बाँकी थियो र सोही हिसाव माग्न थालेपछि उनको पक्षका व्यक्तिहरुले विवाद उठाएर व्यक्ति मर्नेसम्म अवस्थाको सृजना गरेको आरोप लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved