विश्वकै लामो पदयात्रा मिथिला परिक्रमा शुरु

  • फागुन २२, २०७५
  • २५१ पटक पढिएको
  • प्रमोद कुमार साह
alt

धनुषा/ विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठुलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो । धनुषाको ठेरा कचुरी मठबाट आएका मिथिला विहारीको डोला रत्नसागर मन्दिरमा विश्राम गरी जानकी मन्दिरको परिक्रमा गर्दै आज विहान कल्याणेश्वर महादेव स्थल गएको छ ।

मध्य मिथिला परिक्रमा अन्तर्गत जनकपुरको अन्तरगृह पञ्चकोशी परिक्रमा भएपछि समापन हुने चलन रहेको छ । परिक्रमा समापन भएको भोलि पल्ट मिथिलामा होली पर्ब मनाउने चलन रहेको छ ।

mithilapad yatra

यस्तो छ परिक्रमा पथ
पहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर ९कुवा० हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।

दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टि तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर ९कलना० निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमिर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।

चौथो दिनः यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ मन्दिर तथा आठवटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा अरु मठहरु छन् ।

पाँचौँ दिनः मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।

छैटौँ दिनः यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुईवटा आकर्षक पोखरी छन् ।

सातौँ दिनः सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।

आठौँ दिनः यात्रीहरुको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौँ दिनः यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाअर्चना गर्छन् ।

दशौँ दिनः यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको घना वन क्षेत्रले यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

एघारौँ दिनः यात्रीहरुको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।

बाह्रौँ दिनः यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य औरही हो । जनकपुर–जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

तेह्रौँ दिनः भारतको विशौल परिक्रमा यात्रीको तेहौँ दिनको गन्तव्य हो ।

चौधौँ दिनः चौधौँ दिन परिक्रमा यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ ।

पन्ध्रौँ दिनः यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा ९अन्गगृह० पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...