समाजवादी पार्टी र राजपा नेपाल एकीकरण गर्न सहमत

  • असार १६, २०७६
  • १५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौँ । समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणका लागि घनिभूत छलफल भइरहेको छ ।एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको छ ।

एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । 

राजपा नेपाल स्रोत भन्छ, ‘ दुई नेताको बीचमा अहिले दिनहुँ जस्तो छलफल हुन्छ । महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल शुरु भएको छ । यद्यपि अहिले ठोस विषयमा सहमति भएको छैन ।’

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति छैन । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । यद्यपि यो विषयमा दुवै दल गभ्मीर भएर छलफल गरे एक घण्टामा टुङ्गिने राजपा नेपालका महासचिव मनिष सुमनले रातोपाटीसँगको अन्तरवार्तामा बताएका थिए ।

त्यसबाहेक, दुवै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापना गर्ने विषयमा नेताहरुको बीचमा छलफल भइरहेको स्रोतको दावी छ । समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् ।

एकीकरण भएपछि यी दुवै पक्षका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने दुवै दलका लागि चुनौतिको विषय रहेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव अनि त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

राजपा नेपालका महेन्द्रराय यादवलाई संसदीय दलका नेता दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसपछि शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने सहमति भइसकेको अवस्थामा अब कुन मोडालिटीमा एकीकरण हुने भन्ने विषय मात्र बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

गत बुधवार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवास छलफल भएको थियो भने त्यसको भोलिपल्ट उपेन्द्र यादवको निवासमा छलफल भएको थियो । शुक्रबार संसद भवनमा तीन नेताको बीचमा छलफल भएको थियो । पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २–३ घण्टा लामो छलफल हुने गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधामन्त्री उपेन्द्र यादवले एक दैनिक पत्रिकासँगको फेसबुक लाइभमा भनेका छन्, ‘राजपा नेपालका नेताहरुले पनि अब एकता नगरी हुँदैन भनेर महसुश गरिसक्नुभएको छ । त्यसका लागि नेताहरुसँग छलफल चलिरहेको छ ।’

समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि भावना सबैमा पाएको बताउँदै उनले नयाँ शक्तिसँग भएको एकीकरण असारभित्र टुङ्गो लगाउने प्रयास भइरहेको बताए ।

यता, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले समाजवादी पार्टीसँग अनौपचारिक छलफल भइरहेको बताएका छन् । तर, ती छलफलमा के के कुरा भयो त्यसबारे आफूलाई केही जानकारी नभएको उनले बताए ।

उनले भने, ‘राजपा नेपालको तर्फबाट वार्ता समितिको संयोजक राजेन्द्र महतोलाई बनाइएको छ, उहाँलाई अनौपचारिक, औपचारिक छलफल गर्न म्याण्डेट दिएको छ । त्यसै आधारमा छलफल गरिरहनु भएको छ ।’

कुन मोडालिटीमा एकीकरण हुने विषयमा जिज्ञासा राख्दा उनले एकीकरण बराबरीको हैसियतमा हुने प्रतिकृया दिए । (समाचार रातोपाटी अनलाइन बाट)

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...