म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

  • चैत ४, २०७७
  • २६८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं  । म्यानमार सेनाले कू गरेपछिकै सबैभन्दा रक्तापातपूर्ण दिन रह्यो यो हप्ता । एकैदिन प्रहरी र सेनाले चलाएको गोली लागेर ५० जनाको मृत्यु भयो । सेनाले कू गरेपछि सुरु भएको प्रदर्शनका सुरक्षा बलको गोली लागेर मृत्यु हुनेहरको संख्या १२० भन्दा धेरै भइसकेको छ । यसअघि एकैदिन ३८ र १८ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरुले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहितका नेताहरुलाई रिहाइको र प्रजातन्त्र पुनर्स्थापनाको माग गरेका छन् । यससँगै प्रदर्शनकारीहरु चीनप्रति पनि आक्रोशित देखिएका छन् । म्यामारमा प्रदर्शनकारीहरुले हालसम्म चिनियाँ लगानीमा रहेका ३२ भन्दा बढी उद्योगहरुमा तोडफोड र आगजनी गरेको चिनियाँ सञ्‍चारमाध्यम पिपुल्स डेली चाइनाले जनाएको छ ।

म्यानमारको वाणिज्यिक राजधानी योङ्‌गुनमा दुई चिनियाा कामदारहरु पनि म्यानमारका प्रदर्शनकारीको आक्रमणमा परेका छन् भने करिब ३७.८ मिलियन डलर बराबारको चिनियाँ लगानीमा क्षति पुगेको पिपुल्स डेली चाइनाको तथ्यांक छ ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यम सीजीटीएनका अनुसार आक्रमणकारीहरुले फलामका रड, बञ्‍चरोले आक्रमण गर्ने गरेका छन् भने उद्योगहरुमा पेट्रोल छर्केर आगजनी गर्ने गरेका छन् । चिनियाँहरु चढ्‍ने सवारीसाधनमासमेत क्षति पुर्‍याइएको छ ।

म्यानमार चिनियाँ कलकारखाना र उद्योगहरुमा आक्रमण बढेपछि म्यानमारस्थिति चिनियाँ दूतावासले म्यानमारको सैन्य शासकलाई चिनियाँ लगानीका उद्योगमाथिको आक्रमण रोक्‍ने चेतावनी दिएको थियो । चिनियाँ दूतावासको चेतावनीपछि योङ्‌गुन, ह्लियाङथायालगायतका विभिन्‍न जिल्लाहरुमा मार्सल कानुन लागु गरिएको छ ।

आइतबार साँझ मार्सल कानुन लागु भएलगत्तै अर्को चिनियाँ उद्योगमा आगजनी गरिएको छ । मार्सल कानुन लागु भइसकेपछि प्रदर्शनमा उत्रिने र चिनियाँ उद्योगहरुमा आक्रमण गर्नमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो । मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ह्लियाङथायामा करिब एक सयभन्दा बढी चिनियाँ लगानीमा उद्योगहरु रहेका छन् ।

प्रदर्शनकारीहरुले म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कू’ मा चीनको समर्थन रहेको भन्दै आक्रमण गर्न थालेका हुन् । योङ्‌गुनस्थित चिनियाँ दूतावासबाहिर पनि व्यापक विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले म्यानमारको सैन्य कूको निन्दा गर्न चिनियाँ दूतावासलाई आग्रह गरेका थिए ।

 

तर, चिनियाँ अधिकारीहरुले भने म्यानमारमा कू भएको विषयमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए । त्यसैगरि आफूहरुले सैन्य जुन्तालाई समर्थन नगरेकोसमेत बताएका थिए । दूतावासका अधिकारीहरुको यस्तो प्रतिक्रियापछि प्रदर्शनकारीहरु थप आक्रोशित बनेका हुन् ।

चिनियाँहरुले आफ्नो उद्योगको सुरक्षाका लागि सुरक्षागार्डहरुको संख्या बढाएको बताएका छन् ।

तर, म्यानमारस्थित ताइवानमाको डि फ्याक्टो एम्बेसीले आफ्ना कम्पनीहरुमा ताइवानको झण्डा फहराउन र आफू ताइवानी भएको कुनै संकेत दिन सुझाएका छन् । ताइवानले आफू चीनभन्दा फरक रहेको जानकारी गराउन पनि सुझाएको छ ।

म्यानमारमा चार लाखभन्दा बढी चिनियाँहरु रहेका छन् । जसमा अधिकांश म्यानमारमा व्यापार गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...